Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काठमाडौंमा निःशुल्क क्यान्सर परीक्षण: ९० महिलामा एचपीभी डीएनए पोजिटिभ

काठमाडौंमा निःशुल्क क्यान्सर परीक्षण: ९० महिलामा एचपीभी डीएनए पोजिटिभ


  • 1.7K
    Shares

    काठमाडौंमा निःशुल्क क्यान्सर परीक्षण: ९० महिलामा एचपीभी डीएनए पोजिटिभ
    images

    काठमाडौं । काठमाडौं  महानगरमा २ हजार ७७९ महिलाको स्तन र पाठेघरको मुखमा क्यान्सर छ कि भनेर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्ट पोजिटिभ देखिएको छ।

    काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ देखि २०८३ वैशाख २१ गतेसम्म महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गरेको थियो। त्यस क्रममा १२ जनालाई एचपीभी-१६, १३ जनालाई एचपीभी-१८ र ६५ जनालाई-१६ र १८ बाहेक अन्य एचपीभी पोजिटिभ देखिएको हो।

    एचपीभी-६, एचपीभी-११, एचपीभी-१६, एचपीभी-१८, एचपीभी-३१, एचपीभी-३३, एचपीभी-४५, एचपीभी-५२ र एचपीभी-५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ। यीमध्ये नेपालमा एचपीभी-१६ र एचपीभी-१८ को मात्र परीक्षण हुनेछ गरेको थियो।

    यस वर्ष महानगरपालिकाले एचपीभी-१६ र १८ बाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको हो। एचपीभी डीएनए पोजिटिभ हुनु क्यान्सर हुनु होइन। यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिमचाहिँ हो।

    क्यान्सर परीक्षण गरिएका ३५ दिनमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएका थिए। उनीहरूमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेका थिए। 

    कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न आएकामध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरियो। उनीहरूमध्ये ४११ जनाको मेमोग्राम गरियो। ४९४ जनाको स्तनको भिडिओ एक्सरे गरियो।

    उनीहरूमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखिएको थियो। तर उनीहरूमध्ये १ जना सम्पर्कमै नआएको भट्टले बताए। ‘२ जनाको रिपोर्ट पोजिटिभ देखियो। उहाँहरू अहिले उपचाररत हुनुहुन्छ’, उनले भने। 

    उनका अनुसार १ जनाको स्तनमा मासु पलाएको पाइयो। ११ जनाको पाठेघरको मुखमा सीआईएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया देखियो। यो क्यान्सरको प्रारम्भिक अवस्था हो। यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन्। पहिलो तहलाई सीआईएन वान, दोस्रोलाई सीआईएन टु र तेस्रोलाई सीआईएन थ्री भनिन्छ।

    फोकल पर्सन भट्टका अनुसार ११ जनामध्ये ४ जनामा हाइ ग्रेडको समस्या र ७ जनामा लो ग्रेडको समस्या थियो। २ जनाको पाठेघरको मुखमा मासु पलाएको मासु काटेर फाल्ने (सर्भाइकल पोलिपेक्टोमी) गरियो।

    परीक्षणका क्रममा आङ् खसेका, पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको महिलाहरूको उपचार गरिएको जानकारी उनले दिए। 

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १३:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij