Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गर्भवती श्रीमती छाडी दुबई गएका भक्तबहादुर २० दिन नबित्दै फर्किए बाकसमा

गर्भवती श्रीमती छाडी दुबई गएका भक्तबहादुर २० दिन नबित्दै फर्किए बाकसमा


  • 1.4K
    Shares

    गर्भवती श्रीमती छाडी दुबई गएका भक्तबहादुर २० दिन नबित्दै फर्किए  बाकसमा
    images

    काठमाडौं । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपाली यही असार १२ गते रोजगारीको सिलसिलामा दुबई गएका थिए । तर २० दिन नबित्दै उनको शव बाकसमा फर्किएको छ । बिहीबार उनको शव काठमाडौँ आइपुगेको हो । आइतबार परिवारले भक्तबहादुरको शव बुझेर गृह जिल्ला दैलेख फर्किएका छन्।

    उनका बुबा कहिलो दमाइका अनुसार, भक्तबहादुर असार १२ गते काठमाडौँबाट दुबईका लागि उडेका थिए । भक्तबहादुर भारत हुँदै दुबई पुगेका थिए। दुबई पुगेपछि ‘म पुगिसकेँ’ भनेर परिवारलाई खबर पनि गरेका थिए । उनका भाइ नाता पर्ने सुरेन्द्र नेपालीका अनुसार, दुबई विमानस्थलमा उनले केही घण्टा कुर्नुपर्‍यो। 

    पछि कम्पनीको मान्छे आएर उनलाई लगेका थिए । तर असार १४ गते कम्पनीले भक्तबहादुरको मृत्यु भएको खबर पठायो । ‘त्यहाँ कम्पनीको छतबाट हाम फालेर बितेको भनिएको छ, तर वास्तविकता अझै आएको छैन,’ उनको शव बुझ्न काठमाडौँ पुगेका स्थानीय वसन्त शर्माले भने, ‘त्यहाँ पुग्दा अलि टेन्सनजस्तो देखिएको, सिँढीमा तलमाथि गरिरहेको थियो भन्ने जस्तो कुरा आएको छ।’

    परिवारका अनुसार, नेपालबाट जाँदै गर्दा उनमा त्यस्तो कुनै मानसिक समस्याको सङ्केत थिएन । यद्यपि घटनाको वास्तविकता अझै आउन बाँकी छ। भक्तबहादुर यसअघि रोजगारीका लागि भारत जान्थे। मौसमी रोजगारीबाट कमाएको पैसाले परिवार धान्न धौधौ हुन्थ्यो । परिवारको खुसीका लागि उनले दुबई जाने निधो गरेका थिए । त्यसअघि उनका भाइ पनि दुबई गइसकेका थिए। 

    परिवारमा उनकी श्रीमती, ४ वर्षकी छोरी र २ वर्षका छोरा छन् । यस्तै, श्रीमती हाल ६ महिनाकी गर्भवती छिन् । उनका बुबाका अनुसार उनको म्यानपावरदेखि दुबई जान सम्पूर्ण तयारीमा २ लाख ५० हजार रुपैयाँसम्म खर्च भएको छ । 

    ‘सबै रकम ऋण नै हो, परिवारको खुसीका लागि गएको थियो, दैवको लीला महिना दिन नबित्दै उनको शव आइपुग्यो,’ कहिलोले भने, ‘गरिब दुःखीलाई जहाँ गए पनि सुख नाइँ ।’

    भक्तबहादुर त्रिवेणी एचआर सोलुसन प्रालि नामक म्यानपावर कम्पनीमार्फत दुबईको अल्टाफाडोल भवन मर्मत सम्भार कम्पनीमा काम गर्न गएका थिए । उनको सम्झौतापत्रमा लेबरको कामको लागि न्यूनतम मासिक तलब १,००० युएई दिराम उल्लेख छ । २ वर्षका लागि दुबई गएका उनले दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टा काम गर्ने भनिएको छ ।

    यद्यपि उनी कम्पनीमा पुगे पनि एकै दिन काममा जान पाएनन् । ‘त्यहाँ पुगेको एक दिन आराम गरेछ, असार १४ गतेदेखि काममा जाने भनिएको थियो,’ उनका गाउँले भाइ सुरेन्द्रले भने, ‘तर जाने दिनमा म आज जाँदिन भोलिदेखि जान्छु भनेको रहेछ ।’

    सुरेन्द्रले नै असार १७ गते वैदेशिक रोजगार बोर्डमा भक्तबहादुरको शव नेपाल झिकाइदिन निवेदन दिएका थिए । सोही अनुसार, बोर्डको समन्वयमा बिहीबार शव नेपाल आइपुगेको हो।

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - ११:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij