२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) निकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि सञ्चालन गरेको ‘पुनर्जागरण अभियान-२०८२’ अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ। असार १२ गते सुरु भई असार २२ गतेसम्म सञ्चालन गरिएको उक्त मत सर्वेक्षणको विस्तृत रिपोर्ट बिहीबार एमाले महासचिव एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको हो।
खुला रूपमा गुगल फर्ममार्फत सोधिएका १८ वटा प्रश्नहरूमा स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकहरूले आफ्नो मत र सुझाव राखेका थिए।
नेपालभरसहित विदेशका १४ वटा राष्ट्रमा रहेका नेपाली नागरिकहरूले यस प्रक्रियामा सहभागिता जनाएको अभियानकर्ता गजेन्द्र थपलियाले जानकारी दिएका छन्। अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकहरूको प्रत्यक्ष धारणा सङ्कलन गर्नु रहेको थियो।
सार्वजनिक नतिजा अनुसार मत सर्वेक्षण प्रक्रियामा सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेर समूहका ४३.७ प्रतिशत मानिसहरू सहभागी भएका थिए। यसैगरी ६० वर्षमाथिका ३७.१ प्रतिशत र १८ वर्षदेखि ३० वर्ष उमेर समूहका १३.७ प्रतिशत युवाहरूको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, विद्यमान पार्टी नीति बदल्नुपर्ने पक्षमा ८७.५ प्रतिशत र हालकै नीति ठिक रहेको पक्षमा केवल १० प्रतिशत मत परेको छ। नेतृत्व परिवर्तनमा ८७.६ प्रतिशत सहभागी नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् भने हालकै नेतृत्वको पक्षमा १०.५ प्रतिशत मात्रै छन्।
व्यवहार र आचरण सुधारमा विद्यमान नेतृत्वको व्यवहार र आचरण सुध्रिनुपर्नेमा ९५.४ प्रतिशतको मत छ। नेतृत्वको कार्यशैली सुध्रिनुपर्ने पक्षमा ९४.९ प्रतिशतले मतदान गरेका छन्। विद्यमान सङ्गठनात्मक संरचना परिवर्तन गर्नुपर्ने पक्षमा ९१.४ प्रतिशतको मत परेको छ। एकै पदमा दुई पटक मात्र र पूर्ण लोकतान्त्रिक चयननेतृत्व चयन प्रक्रियामा सबै सङ्गठित सदस्यहरूको मत लिने व्यवस्था गर्नुपर्ने पक्षमा ८२.९ प्रतिशतले मत दिएका छन्।
यसैगरी, पार्टी वा संसदीय निर्वाचनमा एकै पदमा बढीमा २ पटक मात्र जिम्मेवारी लिन पाउने कानुनी व्यवस्था आवश्यक रहेको पक्षमा ८२.८ प्रतिशत सहभागी सहमत देखिएका छन्।विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको मोडेलएमालेको पुनर्संरचना र निकासका लागि ४७.७ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका छन्। अर्ली महाधिवेशनको पक्षमा २५ प्रतिशत र केन्द्रीय कमिटीको पक्षमा २४.४ प्रतिशत मत परेको छ।
नेतृत्व हस्तान्तरण कुन तहमा गर्ने भन्ने प्रश्नमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाट, २६.४ प्रतिशतले केन्द्रीय कमिटीभन्दा बाहिरबाट र १६.७ प्रतिशतले मात्रै वर्तमान पदाधिकारीभित्रबाट नेता खोज्नुपर्ने सुझाव दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij