२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान सम्पन्न स्विट्जरल्यान्ड र कोलम्बियाबीचको प्रिक्वाटरफाइनल खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । अब उपाधि दौडमा रहेका सबै टोलीले आफ्नो क्वाटरफाइनल प्रतिद्वन्दी पनि पक्का गरेका छन्।
यसपटक क्वाटरफाइनलमा युरोपको वर्चस्व देखिएको छ। अन्तिम आठमा युरोपबाट ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट एक–एक टोलीले मात्र स्थान सुरक्षित गरेका छन् ।
कीर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिल, आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा तथा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएका छन्। अर्कोतर्फ साविक विजेता अर्जेन्टिना, पूर्व विजेता फ्रान्स, स्पेन र इंग्ल्यान्डले उपाधि यात्रालाई निरन्तरता दिएका छन्।
अब एक दिनको विश्रामपछि क्वाटरफाइनलका खेल सुरु हुनेछन्।
क्वाटरफाइनलका खेल
पहिलो क्वाटरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । कतार विश्वकपको सेमिफाइनलपछि यी दुई टोली फेरि विश्वकपमा भिड्न लागेका हुन् । दोस्रो खेलमा स्पेनले बेल्जियमको चुनौती सामना गर्नेछ । स्पेन लामो अन्तरालपछि क्वाटरफाइनल पुगेको हो भने बेल्जियम पनि आठ वर्षपछि अन्तिम आठमा फर्किएको छ।
तेस्रो खेलमा पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिललाई हराएर उत्साहित नर्वेले अर्को कठिन परीक्षा सामना गर्नुपर्नेछ। अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
अर्जेन्टिना लगातार उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ भने स्विट्जरल्यान्डले सात दशकभन्दा लामो प्रतीक्षापछि क्वाटरफाइनलमा स्थान बनाएको हो।
कहिले कहिले हुँदैछ खेल ?
– फ्रान्स भर्सेस मोरक्को, असार २६ गते विहान १:४५ बजे, बोस्टन स्टेडियम
– स्पेन भर्सेस बेल्जियम, असार २७ गते विहान १२:४५ बजे, लस एन्जल स्टेडियम
– नर्वे भर्सेस इंग्ल्यान्ड, असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियम
– अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्ड,असार २८ गते विहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij