२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको लामो समयपछि सङ्गठन समायोजनको कार्य औपचारिक रूपमा सुरु भएको छ।
दुई पार्टी मिलेर एकीकृत जनता समाजवादी पार्टी नेपाल बने पनि हालसम्म तल्लो तहका सङ्गठनहरूको समायोजन हुन सकेको थिएन।लामो समयसम्म समायोजन नहुँदा नेता तथा कार्यकर्ताहरूमा अन्योल छाएको र कतिपय असन्तुष्ट नेताहरू अन्य पार्टी रोज्न तथा नयाँ सङ्गठन बनाउनेतर्फ लाग्न थालेपछि नेतृत्वले समायोजन प्रक्रियालाई तीव्रता दिएको हो।
पार्टी समायोजनका बाँकी कामहरू टुङ्ग्याउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताहरूलाई काठमाडौं बोलाएका छन्। पार्टीका एक नेताका अनुसार समायोजनलाई सर्वसम्मत बनाउन अध्यक्ष यादवले अनौपचारिक रूपमा वान टु वान र समूहगत रूपमा नेताहरूसँग सघन छलफल गरिरहेका छन्।
पार्टीले हाल दुवै तर्फका नेताहरूलाई समेटेर ५२ सदस्यीय केन्द्रीय समन्वय समिति बनाएको छ। सो समितिमा उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने महन्थ ठाकुरलाई संरक्षकको जिम्मेवारी दिइएको छ। सिंगो समायोजन कार्यको मुख्य जिम्मेवारी अध्यक्ष यादवलाई नै सुम्पिएको छ।
जसपा नेपालका नेता डा।सुरेन्द्र झा पार्टीका विभिन्न सङ्गठनको समायोजन कार्य सुरु भएको बताउँछन्। उनले मापदण्ड बनाएर समायोजनका काम अगाडि बढाइएको उल्लेख गरे। जसपा नेपालका अध्यक्ष यादवलाई समायोजनको जिम्मेवारी दिइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij