२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमवार राजधानी काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा उनको जोड छ । उनले हाल केहीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्नको लागि सहयोग गरिरहेको जिकिर गरेका छन् ।
उनले भने, ‘केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्तालाई उहाँहरुलाई सहयोग गर्नुपर्छ । हामीसँग भएको ज्ञान र सिप हस्तान्तरण गर्नुपर्छ । र उहाँहरुसँग भएको प्रविधिमा आधारित जुन ज्ञान र सिप छ, त्यसको आधारमा मुलुकमा उपलब्ध स्रोत र साधनको ठिक ढंगले प्रयोग गरेर देशलाई समृद्ध बनाएर लग्नुपर्छ । र तपाई हामीले पनि यो वा त्यो बाहाना, यो पार्टी, त्यो पार्टी नभनि सहयोग गर्नुपर्छ । पार्टीहरु त हिजो राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएको संगठन हो । अहिले विज्ञान र प्रविधिको यु्गमा त्यो हतियार काम लाग्छ रु त्यसकारण नयाँ हतियारसहित नयाँ पुस्ता अगाडि आउँदैछ त्यसलाई हामीले सहयोग गरेर मात्रै देशमा विकास र समृद्धि आउँछ ।’
उनले विज्ञान र प्रविधिको अहिलेको युगमा राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएका राजनीतिक संगठन काम नलाग्ने दाबी समेत गर्नुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij