२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको छ। बोर्डले आज एक सूचना जारी गर्दै उक्त ठूलो परिमाणको रकम भुक्तानी भएको आधिकारिक जानकारी दिएको हो।
यो भुक्तानीसँगै वि.सं. २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बिमा बोर्डमा दर्ता भई सेवा दिँदै आएका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता पूर्ण रूपमा फरफारक भएको छ। सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद नागरिकको उपचार खर्च न्यूनीकरणमा योगदान पुर्याउँदै आएको बोर्डले आफ्नो दिगो वित्तीय स्रोत स्थापित हुन नसक्दा समयमै भुक्तानी दिन नसकेको स्वीकार गरेको छ।
यसबाट सेवा प्रदायक र बीमित सेवाग्राहीमा परेको असहज परिस्थितिप्रति आफूहरू पूर्ण सजग रहेको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै, मंसिर यताको बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको स्पष्ट पारेको छ।
अस्पताललाई सेवा नरोक्न र ग्राहकलाई अनावश्यक परीक्षण नगर्न अपिलबक्यौता रकम चुक्ता भएसँगै बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन हार्दिक अनुरोध गरेको छ।
यसैगरी, सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई पनि स्वास्थ्य बिमाको जिम्मेवार उपयोग गर्न अपिल गरिएको छ। अनावश्यक स्वास्थ्य सेवा वा ल्याब परीक्षणको माग नगर्न र चिकित्सकहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा औषधिका लागि दबाब नदिई बिमा कार्यक्रमको दिगोपना जोगाउन बोर्डले नागरिकहरूसँग सहयोग मागेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij