२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठनात्मक पुनर्संरचनाको गृहकार्य अघि बढाएको छ।
मन्त्रालयको दैनिक प्रशासनिक काम र निर्णय प्रक्रियालाई छरितो बनाउने उद्देश्यले यो कदम चाल्न लागिएको हो।
यस नयाँ योजनाअन्तर्गत मन्त्रालयले हाल कायम रहेका ५ वटा महाशाखालाई परिमार्जन गरी कार्यप्रकृतिका आधारमा ३ वटा मात्र कायम गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले कार्यप्रकृतिका आधारमा मिल्दाजुल्दा विभागहरूलाई एकापसमा गाभेर एकीकृत गर्ने तयारी समेत गरेको छ।
यसका साथै स्वास्थ्य क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न र डिजिटल प्रणालीको विकास गर्नका लागि एउटा नयाँ सूचना प्रविधि विभाग स्थापना गर्ने मन्त्रालयको तयारी छ। यो नयाँ विभागले देशभरिको स्वास्थ्य तथ्याङ्क व्यवस्थापन र प्रविधिमैत्री सेवामा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
लामो समयदेखि मन्त्रालयस्तरमा अनावश्यक रूपमा केन्द्रित रहेका र कार्यसम्पादनमा दोहोरोपन देखिएका करिब ३० प्रतिशत दरबन्दीहरूलाई पनि यो पुनर्संरचनाले सम्बोधन गर्नेछ।
यो व्यवस्थापनबाट मन्त्रालयको प्रशासनिक सञ्चालन खर्चमा उल्लेख्य कटौती हुने र तल्लो तहको सेवा प्रवाह थप मजबुत बन्ने स्वास्थ्य मन्त्रालयको विश्वास छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij