२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरू बिचको एकता कल्पना नगर्न सुझाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिएका कारण एकता अहिले सम्भव नभएको बताएका हुन् ।
पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीहरू बिचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै सङ्गठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘अहिले कम्युनिस्ट पार्टीको बिचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ,’ ‘त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबिच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ । पहिले आफू बलियो बनौँ । हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ ।’
नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड दिए । कमिटीहरू गठन गर्दा कार्यकर्ताहरूको चाहना र रुचिलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेश कमिटीको आकार ठुलो भएको भन्दै ठुलो सङ्गठन भन्दा चुस्त बनाउन उनको सुझाव छ । नेता नेपालले मार्क्सवाद र क्रान्तिकारी विचारप्रति निष्ठा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । केही कम्युनिस्ट नेताहरूले वैचारिक धार छाडेर पलायनवादी बाटो रोजेको भन्दै उनले पार्टीभित्र नियमित प्रशिक्षणको आवश्यकता औँल्याए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij