Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा


  • 7.3K
    Shares

    • images
    बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा
    images

    चितवन । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो । 

    बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो । अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन् । 

    स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले करिब १० बिघा मात्रै जमीन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ । अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उहाँले जानकारी दिनुभयो । 
     
    अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँड्दाबाँड्दै जग्गा अभाव भयो ।” अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उहाँको भनाइ छ । 
     
    शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउनुहुन्छ । मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन । गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ । 
     
    चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामीको उपचार गर्ने सङ्घीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । 
     
    तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याउनु भएको थियो । अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ । डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ । विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन् । रासस

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १४:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij