२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ। पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार लगायतका विषयमा छलफल गर्न यो भेला आयोजना गरिएको हो।
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाइमा आयोजित उक्त भेलाको प्रमुख अतिथि निवर्तमान सहमहामन्त्री किशोर राठोर रहेका छन्। भेलामा निवर्तमान केन्द्रीय सदस्यहरू गुरु बराल, कुन्दनराज काफ्ले लगायतका केन्द्रदेखि जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ। तर, विगतमा देउवा समूहमा सक्रिय देखिएका लुम्बिनी प्रदेशका केही प्रभावशाली नेताहरूको भने भेलामा अनुपस्थिति रहेको छ।
भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको आन्तरिक एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल हुने अगुवाइकर्ता गेहेन्द्र गिरीले जानकारी दिए। भेलामा सहभागी नेताहरूले पार्टीभित्र एकता अपरिहार्य रहेको औंल्याउँदै फुटेर नभई जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij