२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ ।
शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । खोप प्रदान गर्दै उनले भनिन्, ‘खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरेका हौँ। खोप अभावले आउने विपद् सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेबिज जोखिम घटाउन सबै मिलेर काम गर्नुपर्ने बताइन् ।
‘जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल नै हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ‚’ उनले भनिन् । खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले हामीले महानगरपालिकासँग सहयोग मागेका हौँ ।
खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डा। अनुप बास्तोलाले भने, ‘अस्पतालमा दैनिक दुई सय जनाभन्दा धेरै व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब नौ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।’
माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको बास्तोलाको भनाइ छ ।
अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दात खोप न्यून रहेकाले अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij