२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको छ। संस्थापन पक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा समूह) र नेता डा. शेखर कोइराला समूहले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्।
काठमाडौंको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।
सबै नेता तथा कार्यकर्ताहरूको भेटघाट र छलफलका लागि यो कार्यालय एक-दुई दिनमै सञ्चालनमा आउनेछ। निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि कार्यालयको स्थान टुङ्गो लागिसकेको पुष्टि गरेका छन्।
गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेपछि सुरु भएको विवाद अहिले चरमोत्कर्षमा छ ।
संस्थापन पक्षले १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गराएका क्रियाशील सदस्यहरूको विवरण पुनः अद्यावधिक गर्ने निर्णय गरेको छ। तर, असन्तुष्ट समूहका नेता-कार्यकर्ताहरूले यो निर्णयलाई अस्वीकार गर्दै आफ्नो सदस्यता अद्यावधिक गराएका छैनन्, जसले विवादलाई थप बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij