२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान कार्य सम्पन्न भएको छ। पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि मतदान गरिएको हो।
रास्वपा नेता मनिष झाले दिएको जानकारी अनुसार पहिलो चरणको मतदान सकिएसँगै अब पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्ने गरी तयारी अघि बढाइएको छ। सभापति रवि लामिछानेले पहिलो चरणको मतदान सकिएलगत्तै दोस्रो चरणको निर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गर्दै नेता झाले दिएको जानकारी अनुसार महाधिवेशनमा मतदानका लागि एउटा मुख्य स्टेशनका आठ वटा सबस्टेशन गरेर कुल ८० वटा बुथहरू बनाइएको थियो। एउटा बुथबाट औसतमा ३१० मत खसेको र कुल करिब ३,१०० मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। महाधिवेशनमा देखिएको प्रतिनिधिहरूको उपस्थिति र उत्साहलाई पार्टीले सकारात्मक रूपमा लिएको झाले बताए।
दिउँसो ४ बजेबाट सुरु हुने दोस्रो चरणको निर्वाचन प्रक्रियामा मुख्य पदाधिकारी पदहरूका लागि मतदान हुनेछ। खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने उनले बताए ।
निर्वाचन आयोगले दिएको ब्रिफिङ अनुसार दोस्रो चरणमा एक जना प्रतिनिधिलाई मतदान सम्पन्न गर्न करिब ४ देखि ५ मिनेटको समय लाग्ने अनुमान गरिएको छ। सोही अनुसार व्यवस्थापन चुस्त बनाएर दोस्रो चरणको प्रक्रिया अघि बढाउन लागिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij