२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति मतदान हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि आज राति साढे ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको हो ।
आयोगले आज अपराह्न ४ बजे राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम चौथो पटक संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको समय तय गरेको हो । संशोधित तालिका अनुसार आजै दिउँसो साढे ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने बेलुका ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको छ ।
आयोगका अनुसार बेलुका ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बेलुका ६ः४५ बजेदेखि मौन अवधि सुरु हुने छ । यस मौन अवधिको करिब पौने दुई घण्टापछि मतदान प्रक्रिया अघि बढाइने कार्यतालिकामा उल्लेख छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij