२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु हुँदैछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि देशका प्रमुख ५ राजनीतिक दलका अध्यक्षहरू पहिलो पटक एउटै मञ्चमा देखिन लागेका हुन्। यो महाधिवेशन रास्वपाका लागि मात्र नभएर देशको समसामयिक राजनीतिक समीकरणका हिसाबले पनि निकै महत्त्वका साथ हेरिएको छ।
रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत उद्घाटन सत्रमा उपस्थित हुने निश्चित भएको हो । लामिछानेको पार्टीको महाधिवेशन हो भने अन्य ४ पार्टीका अध्यक्ष रास्वपा महाधिवेशनमा शुभकामना मन्तव्य दिन सहभागी हुन लागेका हुन् । त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशन उद्घाटनका लागि चितवन आइपुगिसकेका छन्। प्रधानमन्त्री शाहले महाधिवेशनको मञ्चमा विशेष रूपमा घण्टी बजाएर यस ऐतिहासिक सत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा केही महिना अगाडि मात्र स्थापना भएको रास्वपाले उक्त चुनावमा २० सिट जित्दै चौथो ठुलो दलको रूपमा संसद्मा प्रवेश गरेको थियो। तर, गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अप्रत्याशित जनमत हासिल गर्दै रास्वपा सहज बहुमतका साथ चौथो स्थानबाट सिधै देशको पहिलो ठुलो पार्टी बन्न सफल भयो। रास्वपाको यो तीव्र राजनीतिक वृद्धि र जनलहर देखेपछि पुराना तथा परम्परागत राजनीतिक दलहरू समेत आश्चर्यचकित भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij