२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ। चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेको सहमहामन्त्री विपिन आचार्यले बताए। पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर रास्वपाको विधान संशोधन गरिएको थियो।
त्यसलाई केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको थियो। शनिबार केन्द्रीय समितिको अन्तिम बैठकले पनि संशोधित विधान अनुमोदन गरेको हो।
रास्वपाको संशोधन गरिएको विधानअनुसार, एक जना सभापति रहने व्यवस्था यथावत छ। उपसभापति तीन जना रहने व्यवस्था गरिएको छ। जसमा एक जना महिला अनिवार्य गरेको छ। तीन जना उपसभापतिमा एक जनालाई सभापतिले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ।
यस्तै, दुई जना महामन्त्री रहनेछन्। त्यसमा एक जना निर्वाचित हुनेछन् भने एक जनालाई सभापतिले मनोनित गर्नेछन्। सहमहामन्त्री पनि पाँच जना राख्ने व्यवस्था गरिएको छ। त्यसमा दुई जनालाई सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको आचार्यले बताए।
यससँगै रास्वपाको केन्द्रीय सदस्यको संख्या पनि बढाएको छ। अब रास्वपाका १५८ जना केन्द्रीय सदस्य हुनेछन्।
केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछन्। बन्दसत्रबाट पारित भएसँगै नयाँ केन्द्रीय समिति संशोधित विधान अनुसार चयन हुनेछ।
शनिबार २ बजे सुरु भएको केन्द्रीय समितिको बैठक पौन ८ बजेसम्म चलेको थियो। रास्वपाको पहिलो महाधिवेशन आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन गरिनेछ। त्यसपछि उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि प्रकाशित गरिसकेको छ। असार ८ गते उम्मेदवारी दर्ता र असार ९ गर्ने मतदान तोकिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij