२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ठुलो सांगठनिक धक्का लागेको छ । पार्टीको नीति र विचारमा विचलन आएको भन्दै काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पार्टी छाड्नेहरूमा राप्रपा काठमाडौँ महानगरपालिकाका अध्यक्ष केदारबहादुर धमला समेत रहेका छन् । यसअघि जिल्ला अध्यक्ष सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको विशेष बैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो। जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको स्पष्ट पारेका छन् ।
वक्तव्यमा भनिएको छ, “राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।”
पार्टीबाट अलग भए पनि आफ्नो मूल विचार र सिद्धान्तप्रति वैचारिक प्रतिबद्धता भने कायम रहने उनीहरूले बताएका छन्। राप्रपाबाट अलग हुने अन्य नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः सार्वजनिक गरिने जानकारी नेता ढकालले दिएका छन्। राप्रपा छाडेको यो ठुलो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ राजनीतिक दलमा प्रवेश गर्ने तयारीमा रहेको छ।
राजधानी काठमाडौँको मुख्य संगठनमै भएको यो सामूहिक राजीनामालाई नेपालको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij