२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्माणभन्दा विघटनतर्फ उन्मुख भएको आरोप लगाएका छन्। साथै उनले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन्।
मंगलबार पार्टी कार्यालयमा ३६ बुँदे पत्र पठाउँदै खनालले तत्काल संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन्।
खनालले संयोजक प्रचण्डलाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका छन् । पार्टीको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’ को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी छ ।
खनालले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि सङ्गठनात्मक एकीकरण पुरा नभएको, निर्वाचनमा पार्टीले अपेक्षा विपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।
‘पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैँमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ खनालको असन्तुष्टि छ । उनले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न माग गरेका छन् ।
खनालले प्रचण्डलाई लेखेको पत्रमा कहिलेकाहीँ सानो कमजोरीले सिङ्गो संरचना र उपलब्धि नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै त्यस्तो गल्ती प्रचण्ड आफैँले गरेको नेकपा कालको घटना स्मरण गराएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij