२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम घोषित भएका छन्। प्रतिष्ठान उपत्यका समन्वय समिति (ख) का तर्फबाट मैदानमा उत्रिएका उनीहरूले आइतबार अबेर राति सम्पन्न फाइनल प्रतिस्पर्धामा अन्य १७ टोलीलाई पछि पार्दै शीर्ष विजेता बन्न सफल भएका हुन्। प्रथम स्थान हासिल गरेका विक र थापा मगरले रनिङ शिल्डसहित नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटको विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चलेको यो प्रतियोगितामा सरोज सिंखडा र जमुना विश्वकर्मा द्वितीय बन्न सफल भएका छन। प्रतिष्ठान बागमती प्रदेश (क) को प्रतिनिधित्व गरेका उनीहरूले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन।
त्यसैगरी, प्रतिष्ठान मधेश प्रदेश (क) का मानव रावत क्षेत्री र भावना अर्याल तृतीय घोषित हुँदै एक लाख रुपैयाँ हात पार्न सफल भए भने प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) का राजमान खत्री र शान्ता वलीले ५० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन।
जेठ २९ गते भव्य उद्घाटनका साथ सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरियो। जसअनुसार उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक विक्रम गहतराज र उत्कृष्ट नव गायिका शितल कल्पना विक घोषित भएका छन। त्यसैगरी, अनुशासित गायक बेल बहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा पुरुषतर्फ प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा महिलातर्फ सीता माझी बन्न सफल भएका छन।
प्रतियोगिता अगाडि सहभागी टोलीलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टोली छनोट गरेको थियो। करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको यस कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij