२०८३ श्रावण २८ गते बिहिवार
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघि प्रदेश समितिको उपसभापति थिए। शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिएको हो।
सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने शालिकराम घिमिरे र गोपाल घिमिरेबीच दोस्रो चरणको मतदान गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा सहमति जुटेपछि शालिकराम सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएको निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।
पहिलो चरणको मतदानमा रूपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका थिए। अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याउँदा रूपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रूपन्देहीकी मञ्जु भुसालले ७१ तथा रूपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। मतदानमा कुल ५५२ मत खसेको थियो।
रास्वपाभित्रको आन्तरिक समीकरणअनुसार नवनिर्वाचित शालिकराम घिमिरेलाई पार्टी सभापति रवि लामिछानेनिकट समूहका उम्मेदवारका रूपमा हेरिएको थियो भने उनका प्रतिस्पर्धी गोपाल घिमिरेलाई बालेन्द्र शाहनिकट समूहको समर्थन रहेको बताइएको छ। दुवैपक्षबाट तीन–तीन जना उम्मेदवार मैदानमा उत्रिएका थिए।
पहिलो चरणको मतपरिणामले रवि पक्षका उम्मेदवारहरू तुलनात्मक रूपमा बलियो देखिएका छन्। बालेन पक्षबाट प्रतिस्पर्धामा रहेका गोपाल घिमिरे, मञ्जु भुसाल र मधुप्रसाद अर्यालमध्ये गोपालले ८७ मत ल्याए भने मञ्जुले ७१ र मधुले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij