२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असारमा गर्ने पहिलो महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताइसकेको छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह, उपसभापतिमा स्वर्णिम वाग्ले र महामन्त्रीमा भूपदेव शाहलाई दोहोर्याउने निश्चित भएको नेताहरूले बताएका छन्।
त्यसबाहेक एक महिलासहित २ उपसभापति र ३ सहमहामन्त्री पदमा आकांक्षी नेताहरूले आन्तरिक लबिइङ गरिरहेका छन्। नेताहरूका अनुसार २ उपसभापतिमा इन्दिरा राना मगर र प्रतिभा रावलको नाम चर्चामा छ। यस्तै, कोषाध्यक्ष रहेकी लीमा अधिकारीले फेरि सोही पदमा नबस्ने र राजनीतिक पद लिन चाहेको निकटसँग बताएकी छन्। उनको रुचि पनि उपसभापतिमा छ।
चुनावताका एकता प्रक्रियामा आएका विवेकशील साझा र बालेन्द्र शाह समूहमध्ये कुनै एक समूहका नेतालाई एउटा उपसभापति पद दिइने सम्भावना पनि छ। त्यसो त पदाधिकारी हुनको लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ। रास्वपाले ९९ देखि १५१ सम्मको केन्द्रीय समिति बनाउने तयारी गरेको छ।
महामन्त्री कबिन्द्र बुर्लाकोटी उपसभापतिका एक दाबेदार हुन्। यद्यपि, समझदारी अनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने नेताहरू बताउँछन्।रास्वपामा बुर्लाकोटी र अर्काे भुपदेव शाहगरी दुई जना महामन्त्री छन्। आफूसहित अधिकांश पदाधिकारी दोहोरिने शाहले बताए।
बुर्लाकोटीको बढुवा गर्ने कि पुरानै जिम्मेवारी दिने भन्ने विषय टुंगो लागेको छैन। यदि उनी उपसभापति भए भने रिक्त हुने एक महामन्त्री पदमा कम्तीमा चार जना दाबेदार देखिएका छन्। प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहरा र सोविता गौतमले पनि दाबेदार हुन्। वर्तमान सहमहामन्त्री विपिन आचार्यले पनि बढुवा हुन चाहेका छन्।
विधानमा ४ जना सहमहामन्त्री हुने व्यवस्था छ। तर, हाल विपिन आचार्य मात्र छन्। बाँकी ३ पद खाली छ। यसमा संसदीय जिम्मेवारीमा नभएका, एकता प्रक्रियाबाट आएका नेता ल्याउने सम्भावना रहेको नेताहरूको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij