२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । निजी क्षेत्रको अग्रणी नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा आफ्नो नाफामा उच्च वृद्धि गरेको छ।
बैंकले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३३.९२ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ५ करोड १ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ अर्ब ५ करोड ४४ लाख २५ हजार रुपैयाँ थियो। यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १७.४१ प्रतिशतले बढेर २ अर्ब ७० करोड ८९ लाख ८९ हजार रुपैयाँ पुगेको छ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.०८ प्रतिशतले बढेर १६ अर्ब २२ करोड ९९ लाख ८३ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा पनि २६.०९ प्रतिशतले बढेर ९ अर्ब ६१ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ १६ पैसा रहेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४७ करोड ८७ लाख रुपैयाँबाट केही बढेर ५२ करोड ७६ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
नाफामा भएको वृद्धिले बैंकको प्रतिशेयर आम्दानी (ईपीएस ) मा पनि ठूलो सुधार ल्याएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसाले बढेर ३३ रुपैयाँ ०२ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात १६.०५ गुणा रहेको छ।
हाल ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोड २ लाख २९ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ५ खर्ब ७८ अर्ब ३४ करोड ५७ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ४७ करोड ९४ लाख २२ लाख २ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको खराब कर्जा भने ३.९७ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij