२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लालीबजार’ यतिबेला कानुनी विवादमा तानिएको छ ।
वादी समुदायको जीवन र संघर्षको कथामा आधारित भनिएको यो फिल्मले सोही समुदायको भावनामा ठेस पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरिएपछि विवाद सुरु भएको हो ।
विवादको मुख्य जड वादी समुदायको तर्फबाट रोशनी नेपालीले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन हो । फिल्ममा वादी समुदायको चित्रण र विषयवस्तुलाई प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा रोक लगाउन माग गर्दै सोमबार मुद्दा दायर भएको हो । यम थापाको निर्देशन र षट्कोण आर्टसको निर्माणमा बनेको यस फिल्मले वादी महिलाहरूले भोग्नुपर्ने सामाजिक संघर्षलाई पर्दामा उतारेको दाबी गरिएको छ, तर सोही समुदायले भने यसको अन्तर्वस्तुमा प्रश्न उठाएको हो ।
फिल्म विवादमा परेपछि नेपाल चलचित्र निर्माता संघले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । संघका अध्यक्ष उदय कुमार ईङ्नामले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्ममाथि कानुनी अवरोध सिर्जना हुनुले लगानीकर्ता र सर्जकको स्वतन्त्रतामा धक्का पुगेको उल्लेख गरेका छन् ।
राज्यको वैधानिक निकाय 'चलचित्र जाँचपास समिति' ले प्रदर्शनको अनुमति दिइसकेको अवस्थामा यस्ता रिटले स्वतन्त्र लगानीकर्ताको मनोबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने संघको ठहर छ । करोडौँको लगानी र सयौँ प्राविधिक तथा कलाकारको वर्षौँको मेहनत जोडिएको फिल्मलाई रोक्ने मनसायले रिट हाल्नुले समग्र चलचित्र उद्योगलाई नै सशंकित बनाएको विज्ञप्तिमा भनिएको छ ।
निर्माता संघले विधिको शासन र न्यायपालिकाप्रति निष्ठा व्यक्त गर्दै फिल्म 'लालीबजा' निर्बाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij