Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

बालेन सरकारमा जान मन्त्रीका आकांक्षी धेरै, कसले कुन मन्त्रालय ताके ?

बालेन सरकारमा जान मन्त्रीका आकांक्षी धेरै, कसले कुन मन्त्रालय ताके ?


  • 890
    Shares

    • images
    बालेन सरकारमा जान मन्त्रीका आकांक्षी धेरै, कसले कुन मन्त्रालय ताके ?

    काठमाडौं । सरकार बनाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताबीच पछिल्लो समय संवाद र छलफल जारी छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डोलप्रसाद (डीपी) अर्याल र डा. स्वर्णिम वाग्लेले आन्तरिक संवाद बढाएका हुन् । 

    गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ गरी १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ । १८२ सांसदबाट कसरी मन्त्री छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको रास्वपाका नेता बताउँछन् ।

    निर्वाचित सांसदको योग्यता र दक्षताका आधारमा मन्त्री छनोट गर्ने विषयमा शीर्ष नेताबीच छलफल भइरहेको पार्टीका एक नेताले बताए । “पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै हुनुहुन्छ । 

    यही चैत ५ गते बेलुका काठमाडौंको एउटा होटेलमा सभापति लामिछाने, वरिष्ठ नेता बालेन उपसभापतिद्वय अर्याल र वाग्लेबीच छलफल भएको थियो । छलफलबाट चैत १३ गते प्रधानमन्त्रीको शपथको मिति तय गरिएको थियो । त्यसको अघिल्लो दिन नवनिर्वाचित सांसदले शपथ लिनेछन् ।

    सांसदहरूको शपथग्रहणपछि रास्वपा केन्द्रीय समितिको बैठक बसेर बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने तयारी छ । रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । 

    रास्वपा एक्लैले बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त र सरकार गठन हुनेछ । “प्रधानमन्त्रीको शपथ तय भइसकेको छ । त्यसअघि बालेनलाई संसदीय दलको नेता बनाउनका लागि पार्टीको केन्द्रीय समितिको बैठक बस्छ । बैठकबारे अहिलेसम्म केही पनि भएको छैन,” ती नेताले भने । 

    मन्त्रालयको संख्या घटाएर कम्तीमा १५ र बढीमा १८ मा सीमित गर्ने तयारी छ । गृहमन्त्रीको आकांक्षीमा उपसभापति अर्याल, सुनील लम्साल र सुदन गुरुङ्ग छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा लम्साल उनका पूर्वाधार सल्लाहकार थिए । उपसभापति अर्याल सभापति लामिछानेनिकट हुन् । अर्याल श्रममन्त्री भइसकेका नेता हुन् । 

    अबको सरकारको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हुने पक्कापक्कीजस्तै रहेको रास्वपा नेता बताउँछन् । परराष्ट्रमन्त्रीमा शिशिर खनाल, स्वास्थ्यमा डा. लेखजंग थापा र डा. तोसिमा कार्की, शिक्षामन्त्रीमा सस्मित पोखरेल आकांक्षी छन् । सञ्चारमन्त्रीमा प्रवक्ता मनिष झाको चर्चा छ ।

    काठमाडौं–३ बाट निर्वाचित राजुनाथ पाण्डे, सागर ढकाल पनि मन्त्रीका आकांक्षी रहेको स्रोतले जनाएको छ ।  “सरकार गठनको कुरा त छँदै छ, संसदीय दलको प्रमुख सचेतक, सचेतकको विषयमा पनि गहन छलफल भइरहेको छ,” ती नेताले भने, “एकै चरणमा मन्त्रिपरिषद् गठन गर्ने गरी तयारी भइरहेको छ ।”

    सम्भावित सभामुखका रूपमा पूर्वउपसभामुख इन्दिरा राना, सोविता गौतम, सुलभ खरेललाई हेरिएको छ । चितवन–३ बाट निर्वाचित गौतम कानुनमन्त्रीमा आकांक्षी समेत रहेको स्रोतले बताएको छ ।

    प्रमुख सचेतकका आकांक्षी पनि उत्तिकै रहेका स्रोतले जनाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटी, गणेश पराजुली प्रमुख सचेतकका आकांक्षी छन् । 

    सचेतक कसलाई बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको रास्वपा स्रोतले जनाएको छ । “वरिष्ठ नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रिया क्लियर नै छ । त्यसबाहेक पार्टीले गर्नुुपर्ने सबै प्रक्रिया पूरा गरेर सरकार गठन गर्छ,” रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलले भनिन् ।”

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १८:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij