२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव भएको हल्ला चलेपनि आत्तिनु पर्ने कुनै कारण नरहेको उद्योगीहरु बताउँछन् । तर, उपभोक्ता आफैं त्रसित हुँदा थन्क्याएर राखेका पुराना सिलिण्डर साटेर ग्यासको अनावश्यक भण्डारण घरमा बढाइरहेको उनीहरुको बुझाई छ ।
कोशी ग्यास अफ ग्रुपका महाप्रवन्धक सचित उपाध्यायका अनुसार अहिले पनि नेपाल आयल निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर ९पिडिओ० जारी गरिरहेको छ । भारतबाट आयात हुनुपर्ने मात्रामा ग्यास आइरहेको छ । तर, उद्योग परिसरमा भने म्याद नाघेका पुराना सिलिण्डरको संख्या बढ्दै गएको छ । महाप्रवन्धक उपाध्यायका अनुसार पछिल्लो एकसाताको अवधीमा म्याद नाघेका दश प्रतिशत सिलिण्डर कम्पनीमा पुगेका छन् । जुन लामो अवधीसम्म घरमै थन्क्याएर राखेका सिलिण्डर हुन् ।
कोशी ग्यास अफ ग्रुप अन्तर्गत कोशी प्रदेशमा कोशी ग्यास, मधेशको जनकपुरमा नोबेल ग्यास, नारायणगढमा जानकी र काठमाण्डौंका लागि धादिङमा श्रीराम ग्यास उद्योग रहेका छन् । यी चारै कम्पनीले मासिक दुई हजार ८४४ मेट्रिकटन ग्यास आयात गरेर दुईलाख सिलिण्डर बजारमा पठाउँदै आएको उपाध्यायले जानकारी दिनुभयो । जसका लागि १५८ बुलेट ग्यास भारतको हल्दिया, पाराजु, बरौनी वा दुहामध्ये आयात गर्ने गरिएको छ ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले दैनिक २० बुलेट ग्यासको पिडिओ जारी भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म उद्योगले ग्यास नपाएको कुनै पनि गुनासो सुनिएको छैन । कोशी प्रदेशका पाँचवटा ग्यास उद्योगले नेपाल आयल निगमको विराटनगर कार्यालयबाट पिडिओ लिने गरेका छन् । जसमा कोशी, प्रिमा, शुभम, रिजालको र मारुती ग्यास उद्योग हुन् ।
आयल निगमले दैनिक जारी गर्ने पिडिओ अहिले पनि जारी भइरहेकोले बजारमा चलेको हल्ला जस्तो ग्यास अभाव हुनसक्ने संभावना नरहेको निगमका प्रादेशिक प्रवन्धक कार्कीको भनाई छ ।
उपभोक्ता अनावश्यक आत्तिनुपर्ने र घरमा थन्क्याएर राखेका पुराना सिलिण्डर साटेर ग्यास राख्नुपर्ने जरुरी नभएको उद्योगीहरु बताउँछन् । अति गर्मी हुने सहरहरुमा धेरैवटा ग्यासका सिलिण्डर लगेर राख्दा लामो समयसम्म बस्ने भएकोले त्यसबाट अन्य जोखिम समेत निम्तिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । आयात भइरहेको बेला माग बढिरहेको ग्यास घरमा भण्डारण गरेर लामो समयसम्म पुग्ने गरी राख्न नपर्ने सुझाव दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij