Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

मैले आजसम्म कुनै दलको सदस्यता लिएको छैन, मोवाईल चिह्नसँग मेरो सम्बन्ध रहँदैन : ऋषि धमला

मैले आजसम्म कुनै दलको सदस्यता लिएको छैन, मोवाईल चिह्नसँग मेरो सम्बन्ध रहँदैन : ऋषि धमला


  • 750
    Shares

    मैले आजसम्म कुनै दलको सदस्यता लिएको छैन, मोवाईल चिह्नसँग मेरो सम्बन्ध रहँदैन : ऋषि धमला

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ का उम्मेदवार ऋषि धमलाले आफूले अहिलेसम्म कुनैपनि दलको सदस्यता नलिएको भन्दै यो निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
    रौतहटबाट काठमाडौं फर्किएलगत्तै धमलाले रौतहट–४ का जनतालाई धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार भेटघाटमार्फत यस्तो घोषाा गरेका हुन् ।

    उनले आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर टिकट दिएको पनि स्मरण गराए । धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोवाईल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको सहमतिबमोजिम एकल चुनाव चिह्न लिने भएर लिएको बताए । उनले भने,‘म चुनावमा गएँ, जनताको जनादेश मान्ने मान्छे हुँ । मोवाईल चुनाव चिन्ह र त्यो पार्टीसँग सम्बन्ध रहँदैन । मैले चुनाव जाने भएपछि त्यो चिह्न लिएको मात्र हुँ, अहिलेसम्म मैले कुनैपनि दलको सदस्यता लिएको छैन । जनादेश र आम जनता पार्टीबीच सहमति भएको थियो, एउटै चुनाव चिह्न लिने, म पार्टीको उम्मेदवार होईन । दुवै पार्टीले आग्रह गरेपछि चुनाव चिन्ह लिएर गएको हुँ । उम्मेदवार भएँ । म कुनैपनि पार्टीको सदस्यता लिएको छैन ।’

    सो क्रममा उनले देशभरिबाट जनताको मन जितेर आउने सबै सांसदहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् । उनले भने,‘उहाँहरूले जनताको मन जितेर आउनुभएको छ । बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ । बालेन शाहले प्रधानमन्त्री बनेपछि गर्नुपर्ने धेरै काम पनि छ । मलाई विश्वास छ–उहाँ काम गर्ने मान्छे । उहाँको पहिलो राजनीतिक अन्तर्वार्ता मैले लिएको हुँ । मेयरमा उठ्ने बेलामा पहिलो राजनीतकि विषयवस्तुमा अन्तर्वार्ता लिएको थिएँ ।म देशको परिवर्तनको चाहने मान्छे हुँ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने मान्छे हुँ ।’

    सो क्रममा उनले बालेन शाह प्रधानमन्त्री बन्दै गर्दा अब गर्नुपर्ने मुख्य कामपनि सुझाए । उनले २०४६ सालदेखि यताको सबै सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्ने सुझाव दिए । उनले भने,‘मेरो एकसूत्रीय एजेण्डा भनेको दोषीलाई कारबाही गर्ने हो । अब कसैलाई पनि छोड्नु हुँदैन ।’

    आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै आज त्यो दिन नजिक आएको पनि धमलाले सुनाए । उनले भने,‘देशको विकासको लागि मधेश प्रदेशबाट प्रधानमन्त्री हुनुपर्छ भनेको थिएँ । अब मधेशमा औद्योगीकरण गर्नुपर्छ । त्यो काम बालेन शाहले घोषणा गरिसक्नुभएको छ । मेरो एजेण्डा पनि त्यही हो । निःशुल्क शिक्षा र स्वास्थ्य । श्रीराम सुगर मिल्स सुरु गर्नुपर्छ । अब बन्ने सरकारलाई समर्थन गर्नेछु । सहयोग गर्नेछु । आमूल परिवर्तन आजको आवश्यकता हो । जेनजी आन्दोलनको एजेण्डा उठान गरेको मान्छे हुँ । देश बन्ने कुरा ठूलो हो । देशमा विकास गर्ने कुरा हो । देशमा विकास र समृद्धि आजको एजेण्डा हो । दुई तिहाई मत आएको छ। संविधान संशोधन, ऐन, कानून संशोधन गरेर भएपनि अब देशको विकास गर्नुपर्छ ।’

    उनले जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही हुनुपर्ने माग गरे । उनले भने,‘जेनजी आन्दोलनमा दमन गरेर निर्दोष युवाहरुमाथि गोली प्रहार गरेर हत्या गरेको छ, उनीहरुलाई कारबाही गरिनुपर्छ ।’ उनले अब बालेन शाहको नेतृत्वमा बन्ने नयाँ सरकारले जनताको अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्ने बताए । उनले भने,‘राजनीतिमा असम्भव केही पनि छैन । सम्भव बनाउने हो । बालेन शाह जनमतबाट अनुमोदित नेतृत्व हो ।’

    धमलाले संघीयता कि त खारेज कि व्यापक सुधार हुनुपर्ने बताए । उनले भने,‘यथास्थितिमा यो संघीयताले देशमा विकास हुँदैन । जनमुखी बनाउनुपर्छ । होईन भने खारेज गरौं । यस्तो संघीयताले देशमा विकास हुँदैन । देशमा पूरै ब्रम्हलुट भएको छ । असल नागरिकको नाताले मेरो यो सुझाव हो । मैले लोकतन्त्र, कानूनी राज्य, प्रेस स्वतन्त्रता र विधिको शासनको लागि पत्रकारिता गरेको छु । अहिले प्रतिपक्ष कमजोर छ । अब खबरदारी गर्ने काम हाम्रो हो । मिडियाले त्यो काम गर्नुपर्छ । ऋषि धमलाले पत्रकारितामा नयाँ पुस्ता जन्माएको छ ।’

    उनले आफू रौतहटवासीको सबैखाले सुख–दुःखमा साथमा रहने बताए । उनले भने,‘आज पनि दुई जना विरामी उपचारको लागि काठमाडौं ल्याएको छु । जनताको लागि काम गर्नेछु । मलाई जनताले माया गर्नुभएको छ । चुनाव जित हार त प्राविधिक कुरा हो । जनताले जति माया गर्नुभएको छ, म आभार प्रकट गर्छु । रौतहटमा समस्या छ । म जनताको साथमा छु ।’

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १६:३३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij