२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावबाट १४ जना महिला उम्मेदवारहरू निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ र नेपाली कांग्रेसबाट १ जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसको तर्फबाट एक मात्र महिलाले चुनाव जितिन्। दैलेखबाट बासना थापा निर्वाचित भएकी हुन्। उनी ४५ वर्षकी छिन्। बासना २०७४ मा दैलेखको नारायणी नगरपालिकाको उपप्रमुख उठे पनि एमाले उम्मेदवारसँग पराजित भइन्।
पटक पटक गठबन्धन भएका कारण १२ वर्षयता दैलेखमा कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएको थिएन। यसपटक एक्लाएक्लै प्रतिस्पर्धामा होमिएको कांग्रेसले जित हात पारेको हो।
कोशी प्रदेशबाट रास्वपाका ४ महिला निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा १ मा २९ वर्षकी निशा डाँगी विजयी भएकी छिन्। उनी यसअघि रास्वपाको तर्फबाट समानुपातिक सांसद थिइन्। साथै रास्वपाबाट सचेतक पनि थिइन्। निशा पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्।
झापाको क्षेत्र नम्बर २ बाट ५५ वर्षकी इन्दिरा रानामगर विजयी भइन्। उनी यसअघि समानुपातिक तर्फबाट सांसद भएकी थिइन् भने उपसभामुख पनि भइन्। उनी सन् २०१७ मा बिबिसीको विश्वको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन्। जेलभित्रको बालबालिकाको अध्ययन र सुरक्षित आवासका लागि उनले काम गर्दै आएकी छन्।
रास्वपाबाट मोरङ ५ मा ४२ वर्षीया आशा झा विजयी भएकी छिन्। उनले शिक्षाशास्त्र संकायमा स्नातक गरेकी छिन्। झाले मधेसी महिलाको अधिकार र सामाजिक न्यायका लागि काम गर्ने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा उल्लेख छ। उनी मधेसी महिला नागरिक समाजमा समेत सक्रिय रहँदै आएकी थिइन्।
मोरङ ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई हराउँदै रास्वपाकी ३१ वर्षकी उम्मेदवार रूबिना आचार्य जितिन्।उनी कोरोना संक्रमणकालमा 'तातो भात' अभियानबाट लोकप्रिय थिइन्। काठमाडौ विश्वविद्यालयबाट एमबिए गरेकी उनले महिला उद्यमशीलता र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी छन्।
मधेस प्रदेशबाट रास्वपाका ३ महिला प्रत्यक्ष निर्वाचित भएका छन्।
सप्तरी १ बाट ३६ वर्षकी पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छिन्। उनले मानविकी संकायमा स्नातकोत्तर गरेकी छिन्। उनले सुरक्षित गर्भाधारण र गर्भपतन लगायतका क्षेत्रमा कार्य गर्दै आएकी थिइन्।
सर्लाही १ बाट ४३ वर्षकी नितिमा भण्डारी कार्कीले जित हात पारेकी छिन्। उनले रेष्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि र निर्यात तथा आयातका क्षेत्रमा दुई दशक काम गरेकी छिन्। उनले पद्मकन्या कम्याम्पसबाट स्नातक गरेकी छिन्। महोत्तरी ४ बाट ५४ वर्षकी गौरीकुमारी विजयी भएकी छिन्। उनलाई मधेसमा वैकल्पिक राजनीति र परिवर्तनको एजेण्डा अघि बढाउने व्यक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिचय गराएको छ।
बागमती प्रदेशबाट रास्वपाका ४ महिला प्रत्यक्ष निर्वाचित भएका छन्।
धादिङबाट ३६ वर्षकी आशिका तामाङ विजयी भएकी छिन्। उनी जेनजी आन्दोलनका घाइतेलाई सहयोग गरेर चर्चामा आएकी थिइन्। त्यसअघि राजमार्गको सरसफाइका लागि उनले आवाज उठाउँदै आएकी थिइन्। साथै एक रुपैयाँ अभियानमार्फत् दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र कपडा लगायतमा सहयोग गर्दै आएकी थिइन्।
काठमाडौं १ बाट ३० वर्षकी रन्जु दर्शना न्यौपाने विजयी भइन्। विवेकशील साझा पार्टीबाट वैकल्पिक राजनीति अघि बढाएकी रञ्जु यसअघि काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार भएकी थिइन्। तर मेयरमा पराजित भएकी थिइन्।
ललितपुर ३ बाट ३६ वर्षकी डा. तोसिमा कार्की विजयी भइन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। साथै स्वास्थ्य राज्यमन्त्री पनि भएकी थिइन्।
चितवन ३ बाट ३० वर्षकी सोबिता गौतम विजयी भएकी छिन्। उनी यसअघि काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। कानुन विषयमा उनले स्नातकोत्तर गरेकी छिन्। उनी युवा विश्व राजनीतिज्ञ अवार्डबाट सन् २०२३ मा सम्मानित भएकी थिइन्।
गण्डकी प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट एक गरी २ जना महिला निर्वाचित भएका छन्।
गण्डकीको कास्की ३ बाट ५३ वर्षकी बिना गुरूङ विजयी भइन्। उनी रास्वपा कास्कीको कोषाध्यक्ष छिन्। उनी पोखरामा विभिन्न व्यवसाय सञ्चालन गर्छिन् ।
त्यस्तै सुदुरपश्चिममको कैलाली १ बाट ४७ वर्षीय कोमल ज्ञवाली विजयी भएकी छन्। उनी नागरिक उन्मुक्ति पार्टीमा ३ वर्ष कोषाध्यक्ष थिइन्। उनले विजनेश स्टडीमा स्नातक गरेकी छिन्।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई सिटमा जित हात पार्ने देखिएको छ। प्रत्यक्षतर्फ रास्वपाबाट १३ महिलाले जित हात पारे पनि रास्वपाले दुई तिहाई मत हात पारेको अवस्थामा ३३ प्रतिशत महिला सहभागिताका लागि ४५ जना भन्दा बढी महिलालाई सांसद बनाउनुपर्ने हुन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij