२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका उपसभापति राजु राईले पार्टी परित्याग गरेका छन्। राईले बिहीबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि सार्वजनिक गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन। अब स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा लाग्नेछु।’
आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पार्टीले गरेको उम्मेदवार चयनप्रति असन्तुष्ट बनेपछि उनले यस्तो निर्णय लिएका हुन्। अघिल्लो निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका राई यसपटक पनि उम्मेदवारको आकांक्षी थिए। तर पार्टीले उनको सट्टा गणेश पौडेललाई टिकट दिएको थियो।
पार्टी संस्थापक सदस्यसमेत रहेका राई २०७९ को निर्वाचनमा १० हजार ९ सय ४१ मत ल्याएका थिए। त्यही क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले १५ हजार ८ सय ६४ मत प्राप्त गरेको थियो।
उनले पार्टी ‘हाइज्याक’ भएको आरोपसमेत लगाएका छन्। टिकट किनबेच हुने अवस्था सिर्जना भएको र नेताको वरिपरि घुमेर टिकट पाइने संस्कृति बसालिए नयाँ पार्टीको औचित्य समाप्त हुने उनको तर्क छ।
उनका अनुसार कास्की–३ मा समेत टिकट खरिदसम्बन्धी हल्ला चलेको छ भने कास्की–२ मा १० जना वडाध्यक्षले उम्मेदवारको योग्यता नपुगेको भन्दै सभापतिलाई पत्र लेखेका थिए। ‘तर चुनाव नजिकिँदै गर्दा यो विषयलाई कसैले खुला रूपमा उछाल्ने सम्भावना कम छ,’ उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij