२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन्।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी एकतामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सोहीअनुसार वार्ता मिल्ने सम्भावना अझै बाँकी रहेको बताएका छन्।
हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता नगरेको अवस्था रहेको छ।
बुधबार बिहान सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए । बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वयसँगको भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका हुन्।
देउवाको भनाइ सुनेपछि महामन्त्रीद्वय थप छलफल आवश्यक रहेको बताउँदै निवासबाट बाहिरिएका थिए।
विवाद समाधानका लागि दुवै पक्षबाट वार्ता समिति गठन गरिएको थियो। संस्थापन र शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, डा। मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार सदस्य थिए भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij