२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारी गरेको छ । निर्वाचन आयोगको आधिकारिक निर्णय लिएर आफूहरू अदालत जाने तयारी गरिरहेको उनेपाका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिएका छन् ।
उनले भने, हामीले समानुपातिक निर्वाचन लड्ने भनेर समयमा नै दल दर्ता गरेकै छौँ । समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिद पनि लिएका छौँ । समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका छौँ । त्यसबारे निर्वाचन आयोगको आधिकारिक निर्णय गरेको छैन ।’
उनेपा अब निर्वाचन आयोगको निर्णय कुर्दै अदालत जाने तयारीमा छ । उनले उनेपा अहिले निर्वाचन आयोगमा पुगेर निवेदनको विषयमा जानकारी लिएको बताएका छन् ।
उनले आयोगले अहिलेसम्म कुनै पनि निर्णय नभएको जानकारी गराएको र उनेपाको समानुपातिक बन्दसूची नलिएकाले अदालत जाने बताएका छन् । निर्वाचन आयोगले दलहरूलाई यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij