२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ ।
नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन कार्यविधिले विधानको धारा ३५ बमोजिम एक जना संयोजक सहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने व्यवस्था गरेको छ । यो समितिले विधानको धारा २१ बमोजिमको केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनेछ र आफ्ना लागि आवश्यक कार्यविधि तथा निर्देशिका आफैं तय गर्ने अधिकार पाउनेछ ।
यस महाधिवेशनमा पेस हुने प्रस्ताव तथा प्रतिवेदनहरूमाथि सामूहिक वा संयुक्त रूपमा दफावार छलफल हुने र अन्त्यमा बहुमत प्रतिनिधिहरूको ‘ध्वनी मत’ का आधारमा प्रस्तावहरू पारित मानिने व्यवस्था कार्यविधिमा छ । गणपूरक संख्याका लागि भने विधानको धारा ४६ बमोजिम ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij