२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजले विद्यार्थीहरूलाई ठगी गरेको र न्याय माग्न पुगेका पीडित विद्यार्थीमाथि बाउन्सर प्रयोग गरी धम्क्याएको गम्भीर आरोप लागेको छ । दुबईमा इन्टर्नसहितको हस्पिटालिटी म्यानेजमेन्ट डिप्लोमाको नाममा प्रति विद्यार्थी १६ लाख रुपैयाँसम्म असुल गरी नक्कली तथा अमान्य प्रमाणपत्र दिएको भन्दै विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका हुन् ।
शिक्षा मन्त्रालयले समस्या समाधानका लागि गठन गरेको छानबिन समितिले बिहीबार आयोजना गरेको बैठकमा कलेजका सीईओ राजन कँडेल बाउन्सरसहित उपस्थित भएपछि विवादले उग्र रूप लिएको हो । बैठकमा विद्यार्थीहरूले आफ्ना गुनासा राख्न खोज्दा बाउन्सरहरूले हप्काउने र धम्क्याउने प्रयास गरेको पीडितहरूको भनाइ छ । यस क्रममा विद्यार्थी र बाउन्सरबिच चर्को भनाभनसमेत भएको थियो ।
पीडितहरूका अनुसार, कलेजले दुबईस्थित ‘विलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्ट’मा डिप्लोमा पढाइ हुने भन्दै भर्ना लिएको थियो । तर उक्त संस्था नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त नभएको र त्यहाँ प्रदान गरिने प्रमाणपत्र कुनै पनि विश्वविद्यालयले मान्यता नदिने सामान्य ‘भोकेसनल’ तालिम मात्र भएको खुलेको छ ।
‘हामीले पढेर पाएको प्रमाणपत्र कुनै पनि विश्वविद्यालयले स्वीकार गरेन। हाम्रो चार वर्षको समय र १६ लाख रुपैयाँ पूर्ण रूपमा खेर गयो,’ एक पीडित विद्यार्थीले भने। अर्की एक छात्राले कन्सल्टेन्सीमा प्रमाणपत्र देखाउँदा ‘यो त स्क्याम हो’ भनेर फर्काइदिएको पीडा सुनाइन् ।
विवाद चर्किँदै गएपछि कलेज प्रशासनले आफ्नो बदमासी लुकाउन पीडित विद्यार्थीहरूलाई पैसा फिर्ता दिने तर त्यसबापत कतै उजुरी गर्न नपाइने र मिडियामा बोल्न नपाइने सर्तसहितको कागजमा हस्ताक्षर गर्न दबाब दिएकोसमेत खुलासा भएको छ ।
यसअघि यही विषयमा समाचार संकलनका लागि कलेज पुगेका पत्रकारहरूलाई समेत बाउन्सर प्रयोग गरी बन्धक बनाइएको आरोपसमेत लागेको छ। यता कलेज प्रशासनले भने आफूहरूले शिक्षा मन्त्रालयबाट अनुमति लिएर नै अध्ययन गराइरहेको र कुनै पनि विद्यार्थीमाथि श्रम शोषण नगरिएको दाबी गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij