२०८२ माघ ७ गते बुधवार
काठमाडौं । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारबाट आरुघाट बजारमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको समन्वयमा प्रतियोगिता भैरहेको हो ।
आरुघाटको वडा नं ९ स्थित भिमोदय माविमा बिहिबार, शुक्रबार र शनिबार प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहहरुबाट करिब ५५० जना खेलाडीहरुल सहभागिता जनाएको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो गरेर ५ विधामा खेलहरु हुनेछन् ।
जिल्लाका सबै पालिकाहरुबाट ‘केन्द्र भाग’मा पर्ने भएकाले यो वर्ष आरुघाटमा प्रतियोगिता आयोजना गरिएको हो । विशेष गरी उत्तरी गोरखाको चुमनुब्री र धार्चे, बारपाक सुलिकोट, भीमसेनथापा, गाउँपालिकालाई नजिक हुने गरी आरुघाटमा कार्यक्रम गर्ने तय भएको उनको भनाइ छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनोट भएकाहरुले बागलुङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने तामाङले बताएका छन् । प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट छात्र र छात्रातर्फ भलिबल र कबड्डीमा १८–१८ जना, एथलेटीक्समा २२–२२ जना र कराँते तथा तेकवान्दोमा १२–१२ जनाले सहभागिता जनाउने छन् ।
१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij