२०८२ माघ ७ गते बुधवार
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने भएको छ ।
समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
उच्च सुरक्षा व्यवस्था मिलाएर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा मतपत्र छपाइको तयारी गरिएको छ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने नमुना मतपत्रको छपाइ कार्य गरिएको प्रवक्ता भट्टराईले बताएका छन् ।
माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको कार्य टुंगिएपछि निर्वाचन क्षेत्रअनुसार उम्मेदवार संख्याका आधारमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने भएको छ ।
यो पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । कुल मतदाताको ५ देखि १० प्रतिशत संख्यामा बढाएर मतपत्र छापिने भएकोछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij