Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निःशुल्क शिक्षा र स्वास्थ्यको प्रतिबद्धतासहित निमा ग्याल्जेन शेर्पाद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

निःशुल्क शिक्षा र स्वास्थ्यको प्रतिबद्धतासहित निमा ग्याल्जेन शेर्पाद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा


  • 9.4K
    Shares

    निःशुल्क शिक्षा र स्वास्थ्यको प्रतिबद्धतासहित निमा ग्याल्जेन शेर्पाद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता निमा ग्याल्जेन शेर्पाले पार्टीको आगामी नियमित महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    सैद्धान्तिक स्पष्टता, संगठनात्मक सुधार र व्यवहारिक कार्ययोजना अनुरुप पार्टीलाई अघि बढाउनु अत्यावश्यक हुने भएकोले सोही अनुसार पार्टीलाई अघि बढाउन आफूले उक्त पदमा उम्मेवारी दिएको उनले बताएका छन् ।

    कार्यकर्ताको आवाज केन्द्रसम्म पुग्ने संरचना बनाई पार्टीमा युवाहरू र नयाँ पुस्ताको आकर्षण बढाउने, नयाँ मतदातालाई पार्टीमा जोड्ने रणनीतिका साथ विचार, नीति र वैचारिक स्पष्टताका साथ पार्टीलाई अघि बढाउन सक्षम रहेकोले सोही कार्यको लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको दावी उनले गरेका छन् ।

    नेपाली काँग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष रहेका निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निःशुल्क शिक्षा र स्वास्थ्यलाई कांग्रेसको केन्द्रीय राजनीतिक एजेन्डा बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    वक्तव्यमा शेर्पाले नेपाली कांग्रेसको पार्टी विधानअनुसार नियमित महाधिवेशन प्रक्रियाबाट नै अघि बढ्नुपर्ने स्पष्ट धारणा राखेका छन् । यो कुनै विशेष महाधिवेशन नभई नियमित र आधिकारिक महाधिवेशन भएकाले यसैमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

    अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्न सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशन नै कांग्रेसको आन्तरिक लोकतन्त्र, एकता र भविष्य सुरक्षित गर्ने मार्ग भएको बताएका छन् । पार्टीलाई फुटतर्फ होइन, एकतार्फ लैजानु आजको आवश्यकता भएको र त्यो नियमित महाधिवेशनबाट मात्रै सम्भव हुने धारणा उनले राखेका छन् ।

    अग्रज नेता, युवा पुस्ता र क्रियाशील कार्यकर्ताबीचको एकताबद्ध सहभागिताले मात्र कांग्रेसलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्न सकिने बताउँदै उनले महाधिवेशन सफल बनाउन गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

    पार्टीको राजनीतिक दिशाबारे धारणा राख्दै उनले शिक्षा र स्वास्थ्य जस्ता जनताको नैसर्गिक अधिकार पूर्ण रूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने नीति कांग्रेसको प्रमुख प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका छन् । साथै, पार्टी नेतृत्व समावेशी, सहयोगी र जनमुखी हुनुपर्ने उनको भनाइ छ । सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यस दिशामा जिम्मेवारी लिन तयार रहेको उनले बताएका छन् ।

    महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले सबै कांग्रेसजनलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण, पार्टी सुदृढीकरण र वैचारिक स्पष्टतामा एकजुट भई अघि बढ्न आह्वान गरेका छन् ।

     

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - ०९:१५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij