२०८२ माघ ८ गते बिहिवार
१. सिटौलाको आह्वानः अब विशेष महाधिवेशनको औचित्य छैन, सबै निर्वाचनतर्फ लागौँ
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताउनुभएको छ । आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताउनुभएको हो । उहाँले पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
२. राष्ट्रिय मानव अधिकार आयोगमा ओलीले दिए बयान
नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ । गत भाद्र २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो । ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ । आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ ।
३. माया ग्रुपद्वारा ९ क्रिकेटरसँग प्रायोजन सम्झौता
माया ग्रुपले नेपाली क्रिकेटलाई सहयोग पु¥याउने उद्देश्यले नेपाली राष्ट्रिय पुरुष टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुल ९ क्रिकेटरलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । काठमाडौंमा आईतवार एक कार्यक्रम आयोजना गर्दै माया ग्रुपले उपकप्तान दीपेन्द्रसहित राष्ट्रिय टोलीकै अन्य सदस्य भीम सार्की, गुलशन झा र नन्दन यादवसँग प्रायोजन सम्झौता गरेको हो । युवा क्रिकेटर अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यु–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग पनि माया ग्रुपले सम्झौता गरेको छ । उक्त कार्यक्रममा सुशील भने उपस्थित थिएनन् । नेपाली क्रिकेट विकासमा दीर्घकालीन योजनासहित सहयोग गर्दै आएको माया ग्रुपका विश्वास छ ।
४. ६ वर्ष बित्यो, बिर्सिएनन् इराकीहरूले अमेरिकी हत्याकाण्ड
इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो । अहिले एक गम्भीर स्मारक दृश्यमा परिणत भयो । ३ जनवरी २०२० मा भएको ड्रोन हमलामा इरानको कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानी र इराकको पपुलर मोबिलाइजेसन फोर्सेसका उपप्रमुख अबु महदी अल–मुहान्डिसको हत्याको छैटौं वार्षिकोत्सवमा हजारौं मानिसहरू भेला भएका थिए । समयमा जमेको ठाउँबाट शोक गर्नेहरू हिंड्दा हावामा धूप र अन्त्येष्टिको मन्त्र गुन्जिरहेको थियो ।
५. २०२५ मा इजिप्टमा १ करोड ९० लाख पर्यटक भित्रिए
पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जानकारी दिनुभएअनुसार इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने प्रयासहरूलाई दिनुभयो । कायरो, हुरघाडा, शर्म अल–शेख र मार्स आलम देशका सबैभन्दा व्यस्त विमानस्थलहरू थिए । जसले इजिप्टका आकर्षणहरूको भौगोलिक विस्तारलाई प्रतिविम्वित गर्दछ ।
६. अमेरिकी महान्यायाधिवक्ताको दाबीः निकोलस मादुरोले छिट्टै अमेरिकी अदालतमा मुद्दाको सामना गर्नेछन्
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले शनिवार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि चाँडै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताउनुभएको छ । तेलले धनी दक्षिण अमेरिकी राष्ट्रबाट उनलाई पक्राउ गरी बाहिर लगिएपछि बोन्डीको यो भनाइ सार्वजनिक भएको हो । बोन्डीले सामाजिक सञ्जालमा निकोलस मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेस विरुद्ध न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताउनु भयो । मादुरोमाथि लागुऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको, तथा संयुक्त राज्य अमेरिका विरुद्ध ती हतियार प्रयोग गर्ने षड्यन्त्र गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको जानकारी दिनुभयो ।
७. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा; राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ । यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा आलोचना भइरहेको छ । अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताउनु भयो । फ्लोरिडाको आफ्नो मार–ए–लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने बताउनु भयो ।
८. पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण
पाकिस्तानले शनिवार स्वदेशमै विकसित ‘तैमुर’ एयर–लन्च गरिएको क्रुज क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार यो क्षेप्यास्त्र प्रणाली ६०० किलोमिटरको दायराभित्र जमिन र समुन्द्री लक्ष्यहरूमा उच्च सटिकताका साथ प्रहार गर्न सक्षम छ । अत्याधुनिक नेभिगेसन र मार्गदर्शन प्रणालीले सुसज्जित ‘तैमुर’ लाई अत्यन्त कम उचाईमा उड्नसक्ने गरी डिजाइन गरिएको छ । जसले गर्दा यसले शत्रुको हवाई र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई प्रभावकारी रूपमा छल्न सक्छ ।
९.भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने
अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादबारे जानकारी गराउनुभएको छ । रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुहुनेछ । उटाहका सिनेटर लीकाअनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।
१०. साउदी समर्थित यमनी सेनाद्वारा एसटीसीबाट सेयुन शहर पुनः फिर्ता
साउदी समर्थित यमनी सरकारी सेनाले शनिवार यमनको दक्षिण–पूर्वी तेल सम्पन्न प्रान्त हद्रामौतको दोस्रो ठूलो शहर सेयुनलाई पुनः नियन्त्रणमा लिएको छ । सरकारी सैन्य स्रोत र स्थानीय बासिन्दाकाअनुसार यो शहर करिव एक महिनाअघि दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) ले कब्जा गरेको थियो । सरकारी अधिकारीहरूकाहनुसार एसटीसी सेना सेयुनको विमानस्थल र अन्य प्रमुख राज्य संस्थाहरूबाट शान्तिपूर्ण रूपमा फिर्ता भएपछि सरकारी सेनाले कुनै पनि सशस्त्र भिडन्त बिना नै शहरमा आफ्नो पकड जमाएको छ ।
११. निर्वाचन आयोगद्वारा संवैधानिक आयोगहरुसँग छलफल
निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरुसँग छलफल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन आयोगले आईतवार संवैधानिक आयोगहरुसँग छलफल गरेको हो । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महशुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिनुभयो । समानुपातिक समावेशीताको सन्दर्भमा आदिवासी जनजाति, दलित लगायतका समुदाय पहिचान गर्न आयोगलाई अन्योल हुने गरेकोले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको उहाँले बताउनु भयो । समानुपातिक समावेशीता लागू गर्दा वैवाहिक आधार वा जन्मसिद्ध आधार कुनलाई मान्यता दिने भन्ने विषयमा छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
१२. निर्वाचन आयोगद्वारा समानुपातिक बन्दसूचि रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म
निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचिसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचिमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट््याएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उहाँले बताउनु भयो ।
१३. पर्यटन व्यवसायीको समस्या समाधान गर्न वाग्मती प्रदेश सरकार तयार छः पर्यटनमन्त्री श्रेष्ठ
वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको आर्थिक उन्नति पर्यटन व्यवसायबाट मात्र सम्भव रहेको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आईतवार आयोजित ५८ औँ वार्षिकोत्सवमा उहाँले पर्यटन व्यवसाय फस्टाउन नसकेसम्म देशको आर्थिक उन्नति सम्भव नहुने बताउनुभएको हो । उहाँले प्रदेश सरकार पर्यटन क्षेत्रका व्यवसायीहरुको समस्यालाई समाधान गर्न तयार रहेको बताउनु भयो । उहाँले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भयो । प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर यस क्षेत्रका समस्या समाधान गर्न तयार रहेको उहाँको भनाइ थियो । पर्यटन व्यवसाय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्नुहुदै उहाँले ऐन–कानुन तथा विभिन्न राजनीतिक गतिविधिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।
१४. बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी
राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो । झाले विवेकशीलसँग पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ । मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहनुभएको छ ।
१५. विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ । आईतवार ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताउनु भयो ।
१६. विदेशी चलचित्रलाई छायांकनको अनुमति मन्त्रालयबाटै दिने व्यवस्था गरिनुपर्छः सञ्चार सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना चलचित्र डिजिटलाइजेशन गर्ने क्रममा देखापर्ने आर्थिक भार र प्राविधिक जटिलतालाई गम्भीर रूपमा ध्यानमा राखेर कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी स्वामित्वमा रहेका वा बोर्डको आधिकारिक अभिलेखमा नरहेका चलचित्र डिजिटल गर्दा खर्च, प्रविधि, अधिकार र जिम्मेवारीको स्पष्ट खाका आवश्यक हुने बताउनु भयो । उहाँले नेपाल भू–राजनीतिक दृष्टिले संवेदनशील मुलुक भएकाले चलचित्रले देशको अन्तर्राष्ट्रिय छवि र दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभाव पार्नसक्ने बताउनु भयो ।
१७. तोकिएको मितिमा निर्वाचन सफल पार्नु सबै पक्षको साझा कर्तव्यः नारायणप्रसाद दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रमुख दलका नेताहरुले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौति र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरुको साझा कर्तव्य भएको समेत बताउनु भयो । उहाँले संविधानको आवश्यक समिक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताउनु भयो ।
१८. धार्मिक सहिष्णुतामाथि खलल पु¥याउनेमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी
सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्ने भएको छ । आईतवार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भडकाउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानूनि कारवाहीलाई अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले त्यस्ता खालका गतिविधिमा संलग्न जिल्लाहरुमा धार्मिक सदभाव र सहिष्णुता बढाउनका समन्वयात्मक रुपमा प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लले जानकारी दिनुभयो ।
१९. सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ
नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो । उपमहासचिव सेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताउनु भयो ।
२०. विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै
विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ । अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो । नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकमप्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij