२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२\८३ को चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब ९ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij