२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।
सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।
दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका थिए । यही बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो ।
भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ । दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij