२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीलाई स्पष्टीकरण सोधेको हो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विच्छालाई अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाको हस्ताक्षरमा २४ घण्टे स्पष्टीकरण सोधिएको बताएका छन् । पार्टी र पार्टीका नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी एमाले नेतृत्वको सरकारमा समावेश हुनु पार्टीको नीति, सिद्धान्त र हित विपरीत भएको राप्रपाको ठहर रहेको छ ।
सिटौलाले उनलाई पठाएको पत्रमा यस्ताउल्लेख छ, ‘‘सो सम्बन्धमा तपाईंलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’।
सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij