२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको घर फर्क अभियानअन्तर्गत नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै प्रवेश गरेका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्।
राष्ट्रिय सभा गृहमा उनलाई अध्यक्ष केपी ओलीले स्वागत गरे। त्यसपछि आफ्नो धारणा राख्नेक्रममा उनले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्पका लागि एमालेमै फर्किएको बताए हुन्।
'विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ,' उनले भने, 'यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ। यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ।'
यस्तो छ उनको भनाइ
आजको यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो। चार वर्षअघि हामीले विभिन्न कारणले नेकपा (एमाले) बाट अलग भएर अर्को बाटो रोज्यौँ। त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि, आज पछिल्लो अनुभूति र आत्म मन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ।
एमाले छोडेपछि हामीले बुझ्यौँ, यो पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो। एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ।
आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यूको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको छ। अहिलेसम्मको यात्रामा अध्यक्षज्यूले जुन प्रकारले राष्ट्रियता, विकास र सुशासनका मुद्दा उठाउनुभयो, त्यो नै प्रमुख कारण हो — हामी फेरि घर फर्कनु आवश्यक छ भन्ने भावना हाम्रो मनमा जागृत भएको छ।
आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ। हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ। अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ। देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ। आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ।
एमाले छाडेपछि हामीले महसुस गर्यौँ- यो पार्टी केवल संगठन होइन, यो त विचारको घर हो, राष्ट्र प्रेमको दिशा हो, देशको भविष्यको बाटो हो। जब हामीले पछिल्ला वर्षहरूमा राजनीतिक अवस्थाको समीक्षा गर्यौँ, एउटा कुरा स्पष्ट भयो- देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको लागि एमालेको भूमिका अपरिहार्य छ।
आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो। आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन। तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ।
त्यसैले आज, हामी हाम्रै विगत सुधार्दै, हाम्रो मूल घरमा फर्किएका छौँ। हामीसँग देशभरिका अनेकौँ साथी पनि हुनुहुन्छ। जसले यो पार्टीलाई अझ सबल बनाउने प्रतिज्ञा गर्नुभएको छ। हामी ओलीज्यूको नेतृत्वमा देशलाई आत्मनिर्भर, सुशासित र समृद्ध बनाउन पूर्ण समर्पणका साथ अघि बढ्नेछौँ। हामी फेरि जनताको भरोसा जित्नेछौँ, हामी फेरि राष्ट्रनिर्माणको अग्रपंक्तिमा रहनेछौँ।
आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काई केवल राजनीतिक निर्णय होइन, यो आत्म साक्षात्कार हो, यो जनताको बीच फर्कने यात्राको सुरुवात हो, यो हामीजस्ता पार्टीमा फर्किनका निम्ति आउनुभएका समस्त साथीहरुको जीवनको सबैभन्दा सत्य क्षण हो।
विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ। यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ। यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ।
सुदृढ र सशक्त नेकपा एमाले निर्माण गर्नु हाम्रो साझा संकल्प हो। मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार नेकपा एमाले नै हो। एमालेको सर्वोपरी हित, देशभरका नेता, कार्यकर्ता कमरेडबीच सौहाद्रता, हार्दिकता र भातृत्वपूर्ण व्यवहारबाट त्यो सम्भव छ। गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित हामी पार्टीमा फर्किएका छौं। यो बाहेक हाम्रा अरु कुनै माग, शर्त र चाहना छैन। धन्यवाद।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij