२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क मार्फत महामन्त्री शर्माले चार विकल्पहरु सुनाएका हुन् ।
महामन्त्री शर्माको पहिलो विकल्प कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७-२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ। यसैगरी दोस्रो विकल्प मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने छ।
तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको भनाइ छ।
यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न चौथो विकल्प दिएका छन्।
संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५ औं महाधिवेशन गर्न सकिने शर्माले बताएका छन् । केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने विषय समेत उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij