२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपाको सचिवालयको बैठकले जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरेको छ।
रास्वपाले गत ३ वर्षको संसदीय यात्राबाट प्राप्त अनुभवका आधारमा अहिले देशभर बिखरिएका नयाँ राजनीतिक पहल र समूहहरूलाई एकरूपता दिन तथा सामूहिक रूपान्तरणको साझा बाटो खोज्ने प्रयत्न स्वरूप यो पहल गरेको जनाएको छ।
‘प्रवास र स्वदेशमा रहेका आम नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवाहरूबीच सार्थक सहकार्य नहुँदा पुनः पश्चगमनको जोखिम बढ्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले खुला र साझा संवादमार्फत साझा बाटोको खोजी गर्ने निर्णय गरिएको हो।’
रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ का मुख्य ३ उदेश्य रहेको उल्लेख गरेको छ।
१. आन्दोलनको उत्पत्ति, नतिजा र सुधारका सन्देशबारे साझा बुझाइ बनाउने।
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।
३.आगामी प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारी र दीर्घकालीन रूपान्तरणको अवसरका रूपमा उपयोग गर्ने सम्भावनाबारे छलफल गर्ने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij