२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यलयहरु आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यलयमा तोडफोड तथा आगजना गरे ।
आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले भवन जिर्ण बनेका छन् । हाल क्षतिग्रष्त पार्टी कार्यलयमा राजनितिक दलहरुले सरसफाई गरेर आफ्ना नियमित कामहरु गर्न थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको काम समेत थालनी गरिसकेको छ । राजनितिक दलहरुले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यलय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।
नेकपा एमालेका केन्द्रिय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार पार्टी कार्यालयमा रहेको सबै भौतिक सामान र पार्टीका दस्तावेज आगोले नष्ट भएका छन् । उनले करिव १० करोड बराबरको सामग्री र भवनको क्षति भएको बताए। उनले कार्यालय सञ्चालनको लागी आवश्यक कम्प्युटर तथा अन्य आवश्यक सामग्री खरिदको लागि प्रवासमा रहेको पार्टीका सदस्यहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरेको बताए। कोठाहरु पूर्णरुपमा नोक्शान भएका छन् । यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माणको काम सक्नेगरी काम अगाडी बढाइएको कार्यलय सचिव डा। अधिकारीले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात सरसफाई गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइएको बताए। उनले हाल झ्याल–ढोका परिवर्तन गर्ने, रंगरोगन गर्ने लगायतका कामहरु भईरहेको जानकारी दिए भने निर्माणधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठकहरु सञ्चालन गरिरहेको उनको भनाई छ । उनकाअनुसार जनवर्गीय संगठनहरुको सहयोग र केन्द्रिय कार्यलयको संयोजनमा मर्मत कार्य भइरहेको छ ।
मुख्यसचिव पुनले आगजानी तथा तोडफोठबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताउए। उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले कार्यलयमा भएका सबै समान लुटपाट भएको बताए। उनकाअनुसार दुई कोठामा तोडफोड र आगो लगाइएको छ भने ल्यापटप, कम्प्युटर, कुर्सी-पंखा सबै लुटिएको छ । पार्टीका आवश्यक कागजातहरु जलेर नष्ट भएका छन् । उनले प्रारम्भिक मूल्याङ्कन गर्दा करिव १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए। उनले हाल सहयोगी दाताहरुसँग चन्दा संकलन गरी कार्यलय व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।
एकीकृत समाजवादी पार्टी राजावादीहरुको आन्दोलनका क्रममा पनि क्षति भएको थियो । राजावादीको आन्दोलनका क्रममा क्षति भएको घर मर्मत गर्न २४ लाख रुपैयाँ लागेको उनले जानकारी दिए। राजनीतिक दलहरुले आफ्ना पार्टी कार्यलयहरुको पुनर्निर्माण आफै गर्न थालेका छन् ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव भट्टराई पुननिर्माणको काम क्षति विवरण संकलन गरेर सरकारले गर्नुपर्ने भएपनि हालसम्म त्यसो हुन नसकेको बताए। सहयोगी तथा दाताहरुसँग चन्दा संकलन गरेर दलहरुले कार्यलय पुनर्निर्माण तथा सँचालन थालेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij