२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाइएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।
पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७-२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन तयारीका बारेमा छलफल गर्ने भएको छ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेको छ । भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा।अधिकारीले जानकारी दिएका छन् ।
एमालेमा झन्डै साढे ६ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij