२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा सानेपामा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन् । पार्टी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्क समेत गरेका छन्।
कार्यवाहक सभापति खड्काले पार्टीको चालु केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरेका छन्। पार्टी भित्रको एकतामा जोड दिँदै कार्यवाहक सभापति खड्काले काँग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भुमिका खेल्ने गरी आवश्यक निर्णय लिने पनि बताएका छन् ।
उनले भने, ‘हामी नेपाली काँग्रेसको चालु केन्द्रिय कार्य समितिको बैठकबाट नेपाली काँग्रेसको नियमित पार्टीको विधानअनुसारको निर्णय, मुलुकको यो सबै परिदृश्यमा देखिएका सबै राजनीतिक घटनाक्रमहरुमा हाम्रो उत्तरदायित्व, हाम्रो जिम्मेवारी, सबै दलहरुसँग हामीले मिलेर जाने हाम्रो विगत जस्तै प्रतिवद्धता, संविधान रक्षाको प्रतिवद्धता र हामीले लिनुपर्ने तमाम जिम्मेवारीपूर्वकका निर्णयहरु हामी एकतावद्ध भएर केन्द्रिय कार्य समितिको बैठकबाट सम्पन्न गर्नेछौं । ती सबै विचारहरु, दृष्टिकोणहरु, फरक फरक कोण र जोडहरुलाई एक ठाउँमा जोडेर हामी चालुक केन्द्रिय कार्य समितिको बैठकबाट घोषणा भएको निर्वाचन, हाम्रो पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाहरुको चालु रहेका अधिवेशन सबै विषयहरुलाई अगाडि राखेर पार्टीका महाधिवेशन प्रतिनिधिहरुले प्रश्तुत गरेका विशेष महाधिवेशनको प्रश्तावलाई पनि समाधान नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी सम्पूर्ण एकता, वृहत एकता, नेपाली काँग्रेसका अगाडि आएको चुनौति र सँगसँगै आएको अवसर नेपालको राजनीतिमा फेरी नेपाली काँग्रेसले मियोको रुपमा यो प्रतिकुलताबाट जलेको देशको खरानीमा रुपान्तरण भएको पार्टीका साथीहरुको सम्पती, व्यापार व्यवसायमा भएको क्षति लगायतका सम्पूर्ण प्रतिकुलतालाई अनुकुलता बदल्नका लागि फेरी नेपाली काँग्रेसमाथि विश्वास गर्ने अवस्थाको सृजना गर्ने र मुलुकको अहिलेको परिस्थितिलाई समाधान गर्दै राष्ट्रिय एकता, संविधानको रक्षा, सबै दल, सिंगो नागरिक समाज, सञ्चार जगत सबैलाई एक ठाउँमा उभिने परिस्थितिको निर्माण गर्ने त्यो विश्वास जगाउने गरी केन्द्रिय कार्य समितिबाट सर्वसम्मत निर्णय गराउनेछौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij