२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।
पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।
पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो ।
पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।
अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ ।
मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।
अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।
पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।
सिलगुडी–चारआली र अमलेखगञ्ज-लोथर पाइपलाइन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सरकारले सिलगुडी (भारत)-चारलआली (झापा) र अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो ।
राप्ती नगरपालिका-१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।
उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।
पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ ।
त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।
यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij