२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्व शिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।
गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेती गरिरहेको बताए । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिए । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए ।
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताए । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेका उनले मागअनुसार फूल पुर्याउन नसेकेको उल्लेख गरे ।
उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका छन् । उनलाई श्रीमती र छोरद्वयले सहयोग गरिरहेका छन् । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उनले बताए ।
भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उनले बताए ।
भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उनले बताए । ‘असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो’, उनले भने, ‘दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।’
गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उनले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij