२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौँ । दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् ।
आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोकेका छन् । महाधिवेशन सम्पन्न गर्न खड्कालाई जिम्मेवारी दिएसँगै पूर्ण रूपमा कार्यकारी भूमिकाबाट आफूलाई अलग राखेको सन्देश सभापति देउवाले दिएका छन् ।
जेन-जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा गर्न नपाउँदै पार्टी नेतृत्वबाट बिदा हुनुपर्यो । यदि, जेन-जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए उनी ।
जेन-जी आन्दोलनपछि देउवाले १५ औं महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने सुरक्षित बाटोसमेत लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र तत्काल नेतृत्वबाट हट्न उनीमाथि चर्को दबाब पर्यो । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भदौ २३ र २४ अगाडिको स्थिति र त्यसपछिको स्थिति एउटै नभएको भन्दै सार्वजनिक रुपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका थिए । विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराए । आम कार्यकर्ताको भावना पनि देउवाले तत्काल बहिगर्मनको बाटो रोज्नुपर्नेमा देखियो । यी सबै दबाबका कारण देउवा आजको स्थितिमा आइपुगेका हुन् ।
नेतृत्व हस्तान्तरणका सवालमा देउवाले 'घरमा सधैं एकैजना मुली नरहने' भन्दै महामन्त्रीद्वय शर्मा र थापालाई लक्षित गरेर जवाफ पनि फर्काएका छन् । ‘म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैं एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ त्यसमा द्विविधा छैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij