Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कप्तान इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी

कप्तान इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी


  • 631
    Shares

    कप्तान इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। उनले मंगलबार मलेसियासँगको टीट्वेन्टी शृंखलाको चौथो खेलमा यो कोशेढुंगा पूरा गरेकी हुन्।

    उनले ७७ खेलमा यो उपलब्धि हासिल गरेकी हुन्। इन्दुले ७७ खेलको ७० पालिमा ८३।७१ स्ट्राइक रेटका साथ एक हजार ३३ रन बनाएकी छन्। इन्दुले ६ वर्षको अवधिमा यो उपलब्धि हासिल गरेकी हुन्। सन् २०१९ जनवरी १२ मा चीनसँगको खेलबाट टीट्वेन्टी क्रिकेटमा डेब्यु गरेकी उनले एक अर्धशतकसहित यो उपलब्धि हासिल गरेकी हुन्। इन्दुले आफ्नो करियरमा एकमात्र अर्धशतक सन् २०२१ मा कतारविरुद्ध प्रहार गरेकी थिइन्। त्यस खेलमा उनले अविजित ५५ रन बनाएकी थिइन्। २८ वर्षीया अलराउन्डर इन्दुले ४० विकेटसमेत लिएकी छन्।

    उनलाई सीता रानामगरको पछ्याइरहेकी छन्। सीताले ६३ खेलमा नौ सय ६५ रन बनाएकी छन्। यस्तै पूर्वकप्तान रुबिना क्षत्रीले ७८ खेलमा नौ सय ३६ रन बनाएकी छन्। मलेसियाको बायोमास ओभलमा मलेसियासँगको चौथो खेलमा इन्दुले अविजित ४८ रन बनाएकी थिइन्। उनले ३९ बलमा ६ चौका हिर्काएकी थिइन्।

    नेपालको दोस्रो जित

    घरेलु टोली मलेसियासँगको अन्तर्राष्ट्रिय महिला टीट्वेन्टी शृंखलामा नेपालले दोस्रो जित निकालेको छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा मंगलबार भएको शृंखलाको चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

    मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य नेपालले १७।३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। नेपाललाई प्रभावशाली जित दिलाउन कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षत्रीले अविजित अर्धशतकीय साझेदारी गरेका थिए। इन्दु ३९ बलमा ४८ रन बनाइन्। रुबिनाले २३ रनको योगदान दिइन्। नेपालको ५४ रनमा चार विकेट गुमाएपछि इन्दु र रुबिनाले उत्कृष्ट पालि खेल्दै ६१ रनको साझेदारी गरेका थिए। यस्तै कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन जोडे। मलेसियाका नुर दानिया स्युहादा, आइना हमिजा हसिम र माहिराह  इजाती स्माइलले एकरएक विकेट लिए। 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो। मलेसियाकी मास एलिसाले अविजित ५६ रनको अर्धशतकीय पालि खेलेकी थिइन्। उनले ६३ बलमा पाँच चौका प्रहार गरिन्। यस्तै माहिराह  इजाती स्माइलले १८ र नुर दानिया स्युदाहले १५ रन बनाए। नेपालकी कविता कुँवरले तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १० रन खर्चिएर तीन विकेट लिएकी हुन्। पूजा महतो र कविता जोशीले एकरएक विकेट हात पारे।

    नेपाल यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको थियो भने दोस्रो खेल ६ विकेटले जितेको थियो। यस्तै तेस्रो खेल भने मलेसियाले १३ रनले आफ्नो पक्षमा पारेको थियो। यससँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ। आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको तयारीका लागि मलेसियासँग शृंखला खेलेको हो।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - ०९:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij